Welcome to Pustak Samikshya

क्यान्टोनमेन्ट र अरु कविताहरु

07 Jun

2016

क्यान्टोनमेन्ट र अरु कविताहरु

  • सुमन घिमिरे

क्यान्टोनमेन्ट र अरु कविताहरु
सुमन घिमिरे
कवि सिर्जन अविरलको कविता कृति “क्यान्टोनमेन्ट र अरु कविताहरु” हालै बजारमा आएको छ । कवितासँग्रहको हिसाबले यो उनको दोसा्रे सँग्रह हो भने कृतिका हिसाबले तेस्रो । त्यसो त कवि अविरल चितवनका एक कुशल प्रस्तोता पनि हुन् ।
पचासको दशकलाई हेर्ने हो भने देशले १० वर्षे युद्यकालिन समय भोग्न बाध्य भयो । यही जन युद्यका कारण कति मानिसहरु अनाहत रुपमा मारिए । कोही कतै विजय भए कोही कतै पराजय भए । तर यो युद्धमा हार्ने पनि एउटै र जीत्ने पनि एउटै थिए । त्यो हो हामी नेपाली । हामी आआफ्नै शत्रु भयौं । अन्त्यमा शान्तिको विकल्प केही रहेनछ भन्ने वास्तविकताले छोएपछि युद्ध समाप्ति भयो । देशले नयाँ बाटो लियो । त्यही बाटोको एउटा पक्ष थियो क्यान्टोनमेन्ट । कवि सिर्जन यि सबै कुराका साक्षी थिए । एउटा ईतिहासको दस्तावेज हो क्यान्टोनमन्ट । कवि सिर्जनले आफुले जे देखे त्यही कुरा क्यान्टोनमन्ट सिरिज कविताहरुमा यहाँ अटाएका छन् । युद्ध जीतेर साम्राज्य जमाउने जुन परिकल्पना थियो योद्धाहरुको त्यो सबै चकनाचुर भयो क्यान्टोनमन्ट पुग्दा । कविले कल्पना गरे
“ हार्नु त के थियो र सुरभी
सबै सपना जितेर आयौं
साच्चै हामीले
त्यही समय
गमलामा फुलहरु रोपेर
उत्साहको गीत गायौं
र
वर्षौ पछि बन्दुक विसाएर
एक अर्कोमा हात मिलायौं ”

क्यान्टोनमन्ट १ पृ.३
क्यानटोनमेन्ट बाहेकका उनका अरु कविताहरु पनि तत्कालिन द्वन्द्वका कुरा गर्छन् । मनमाया , माइलीहरु, म र मेरी छोरी, कर्णाली, सुसेली आदि सबलेै कतै न कतै युद्धका कुराहरु गरेका छन् । यस्तो लाग्छ कि कवि सिर्जन आफैं योद्धा नभए पनि, यो द्वन्द्वमा उनी अप्रत्यक्ष रुपमा संलग्न छन् । उनले आफ्नो लेखकियमा पनि उद्गार गरेका छन् कि उनका पितालाई सैनिकले विना कारण कैदी बनाएको थियो। त्यसैले पनि होला कवि सिर्जनलाई जनयुद्धले छोयो र लेखे धेरै कविता यसै सन्दर्भमा ।
एउटा योद्धा लडाई भूमि छाडेर , क्यानटोनमेन्ट तीर लाग्दा उसले जीवनको नयाँ सुरुवातिको अनुभव गर्छ । तर लडाईमा गएको मान्छे कुनै सफलता प्राप्ती विना फर्कन पर्दा उसलाई लाज लागेको छ । सायद उसको सफलता भनेको सत्ता प्राप्ती थियो , अनाहतमा मानिसहरुलाई मार्नु थियो । ऊ अयोग्य ठहरिए पछि आफनो घर फर्कदा उसले आफनो प्रेमिकालाई सम्झेको छ र भनेको छ ,
“म अहिले
जीवनको लय हराएर आएको छु
म खबर लिन गएको योद्धा
आफै खबर भएर आएको छु
तिम्रो सामु
जुधाउन नसकेका
एक जोर आँखाहरुमा हेर
निभाएर उहिले उहिलेको आगो
आँखा भरि पानी लिएर आएको छु । ”
क्यानटोनमेन्ट २ पृ ६
क्यानटोनमेन्टमा लगिएका के सबै योद्धा खुशी भए त ? के जन युद्ध सुरु गर्दा यस्तै हुन्छ भनेर भनिएको थियो त ? क्यानटोनमेन्ट कस्तो थियो । कवि सिर्जन आफ्ना कविताहरुमा यस्तै यस्तै प्रश्न गर्दछन् । उनको यो प्रश्न सत्य छ । उनका कविताहरुले क्यानटोनमेन्ट पुगे पछि योद्धाहरु ख्ुाशी नभएको ठोकुवा गर्छन् । कुनै पनि कवितामा मन प्रफुल्ल भएको देखाइएको छैन योद्धाहरुको । यो कुरामा कवि सिर्जन कति सफल भए त्यो र्निक्यौल गर्नै बाँकी छ ।

“मन भरी अल्झििएका
अतितका दुःखहरु
ल्ुाकाएर आफै सँग
यही चौतारीमा
उभिएर सोध्छे
ओहो कसले निभायो
त्यो विचारको आगो ?”
क्यानटोनमेन्ट ४ पृ १०
जनयुद्धबाट अनगिन्ति फल प्रप्ती हुन्छ भन्नेहरुले अन्त्यमा योद्धाहरुदाई बन्दी बनाएर मनको लड्डु घ्यु सँग ख्वाए जस्तो भयो । वास्तवमा यसमा क्यानटोनमेन्टको दोष केही पनि छैन । कवि सिर्जनले क्यानटोनमेन्टलाई औधी माया गरेर भनेका कहि कहि सम्बोधन गरेका छन् “ प्रिय ” शब्दले । कवि सिर्जन भन्छन् युद्ध सबथोक होईन रहेछ । उनी भन्छन् युद्ध मुक्तिको चिराग पनि होईन र यसलाई परिवर्तनको कडी मान्न तयार छैनन् उनी । अयोग्य ठहरिनेहरु क्यानटोनमेन्टलाई विदा गर्दै घर फर्कदा को अवस्था पनि कविले यस सँग्रहमा प्रस्तुत गरेका छन् ।
काठमाडौलाई गाली गरेका छन् । काठमाडौलाई राजधानी भएर अहम् भएको उद्घोष गरेका छन् कविले । वास्तवमा काठमाडौ राजधानी हुनाले उसले दुःख पाएको हो । उ राजधानी नहुँदो हो त , काठमाडौ आफ्नो अस्मिता उत्तिकै राख्न सक्थी । यसमा कवि अलिक बढि क्रुर भएझैं लाग्यो ।
कवि आमा र बुढो पहाडलाई तुलना गरेका छन् कविता “आमा”मा । उनको यो मात्र प्रकृति प्रेमी कविता होईन, “नदीको किनारमा” र “पहाड” पनि हुन् ।
“आफ्नो पुरै उमेर भन्दा बुढो
यो पहाडले बदलेन रंग
र कहिले बदलिएन
आमाको दुःख ”
आमा पृ. २९
एउटा मात्र प्रेम कविता छ यो सँग्रहमा । सबै कविता अतालिएको मनोभावका छन् । यो कविता पढेपछि यस्तो लाग्छ कवि आफ्नो प्रेमिकालाई सम्झदै उनकै लागि कविता लेखेको, संगीत सिकेको हो जस्तो लाग्छ । उनका देशप्रेमी कविता पनि संख्यात्मक हिसाबमा कम छन् यो संग्रहमा ।
प्ुारै सँग्रह पढ्दा पाठकलाई निकैनै भावुक बनाउने खालका छन् उनका कविता । पाठकलाई हसाउन त यो कविताले सक्दै सकेको छैन । यो कुरा भने पक्का हो कविता सँग्रह इतिहासको दस्तावेज बन्ने कुरामा दुई मत छैन । सरलता यो कविता सँग्रहको विशेषता हो । कुनै पनि कविताहरु बुझ्न कठिन छैनन् । शब्द चयन पनि राम्रो गरेका छन् कविले । सामान्य भाषिक त्रुटी कतै कतै छन् । शब्दहरु दोहोरिएको छ जस्तै मनमाया , सुदूर, अरुण आदि । समग्रमा भन्न पर्दा यो संग्रह क्यानटोनमेन्टमै आधारित संग्रह हो । अरु कविताहरुले पनि अलि अलि यिनकै सुगन्ध दिएको छ । कविले यो संग्रहमा क्यानटोनमेन्टकै मात्र कविता राखेको भए अझ राम्रो हुने थियो । यस अर्थमा पनि कि क्यानटोनमेन्ट सायद अब नेपालीले देख्न पाउने छैनन् । प्राय कविता छोटा कदकै छन् र यो यसको विशेषता पनि हो । कवि सिर्जनको कविता यात्रा निकैनै योग्य छ र उनको भविष्य उज्यालो छ र कवि सिर्जनलाई बधाई एवं शुभकामना ।

पृष्ठ संख्या ७०
म्ूाल्य १५०
प्रकाशक याम्बुरी बुक प्वाईन्ट

 

Recent Reviews

केन्द्र र परिधि

केन्द्र र परिधि

योगमाया ः धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

योगमाया ः धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

Bhirmaha

Bhirmaha