Welcome to Pustak Samikshya

रक्सी, सेक्स र सेक्रेट पात्रहरु

04 Jun

2016

रक्सी, सेक्स र सेक्रेट पात्रहरु

  • सहदेव पौडेल,न्यु योर्क

गोविन्द गिरी प्रेरणाको नयाँ कथा सङ्ग्रह “गन्तव्य गणबहाल” पढिसकें पछि लाग्दैछ यी कथाका पात्रहरु कतै मेरै वरिपरि यात्रा पो गर्दै छन् कि वा यिनीहरूलाई मैले कतै भेटेको पो छु कि, वा भोलि नेपाल गएको बेलामा खोजी पो गरौँ कि, अनि सँगै बसेर रक्सी पो पिउँ कि !

“गन्तव्य गणबहाल” कथा सङ्ग्रहमा आठवटा जीवन जस्तै लामा र घुमाउरा कथाहरू छन्। यी सबै कथाहरूमा रक्सी, सेक्स र केही सेक्रेट पात्रहरुको उत्हासजनक संयोजन छ।कथा पढ्दै गर्दा कथाका पात्रलाई अब के होला? अव यिनीहरूले के गर्लान भन्ने परि रहन्छ। लेखकले पाठकलाई कथाको निधार देखि पुछार सम्म रोचक ढङ्गले डोर्याएर लैजान्छन्, कतै छोड्न मन लाग्दैन यी पात्रहरुलाई। अब यिनीहरूले के गर्लान? कुन मोडमा जीवनलाई पुर्याएर छोड्छन भन्ने लाग्दा लाग्दै कथाको अन्त्य हुन्छ र केही पात्रहरु खुसीका साथ् केही दुखका साथ आफ्नो बाकीं जीवन यात्रामा लागि रहन्छन । पाठकलाई यसरि कथाको वरिपरि बाधीराख्न सक्नु नै राम्रा कथाहरुका गुणहरू हुन। कथाको अन्त्यमा जुन मोड आउँछ, त्यसले ती पात्रहरुको जीवनको अर्कै पर्दा खोल्दिन्छ, जो यी सबै कथाका अर्को रोचक पक्ष हुन्।

​कथाहरु हाम्रै परिवेशका छन्। लाग्छ कथाका यी पात्रहरु हाम्रै साथी भाइ ​वा छर छिमेकी हुन्। “गन्तब्य गणबहाल” को “म” पात्र होस् वा भट्टीकि साहुनी र त्यो अपरिचित पात्र जो थाहै नपाई कथाका व्यथा बन्छ र गण बहाल जस्तै चोक र गल्लिहरुमा रुमल्ली रहन्छन। त्यसै गरी “इन्द्र लीला” कथामा पनि रक्सी र सेक्स पात्रको रूपमा नै लीला गरिरहन्छ। “इन्द्र लीला” को अन्त्यमा इन्द्रकि श्रीमतीको साहस प्रंशंसा योग्य छ। त्यसै गरी “मिसेज लिङ र उनका चिसा हात”, “जब म्यापलका पातहरू झर्न थाल्छन” मा लेखकले आफू बसेको ( वान्सिंगटन, भर्जिनिया) परिवेशको चित्र उतारेका छन्। यी कथाहरूमा नेपाली मात्र होइन थाई लगायत अमेरिकाकै केही पात्रहरु कथामा कक्टेल जसरि मिसिन्छन र रक्सी र सेक्सको समिश्रणमा आफूलाई हराउछन। “सर, मलाई सेक्स मन पर्दैन” मा शीर्षकमै सेक्स शब्दावली भएकोले अवश्य पनि यो कथामा पनि सेक्सले पात्रका जीवनलाई सुखमय बनाई दिएको छ। यो कथामा कथाकारले अर्को कुनै कथाकारको कथालाई कथा बनाउछन्। पाठकहरू फ्रान्स देखि पाल्पा, नर्बे, डिसी, र काठमाडौँ तिर डूलीरहन्छन। देशको द्वन्दको घाउ छ कथा “लस्कर” मा र त्यो घाउमा छरिएको छ नमिठो यौवनको मिठो बासना। त्यही बासनामा अल्मलिन्छिन कथाकी बुहारी पात्र र अनौठो सेक्रेट पैदा गर्छन् अर्का “ससुरा” पात्र। “रगत” कथा बदलिँदो नेपाली समाजको ऐना हो। रगतमा पनि मिसिन्छ सेक्स र रक्सी। “कोख” कथा पनि पारिवारिक रनभुल्लबाट रन्थनिएकि, रक्सी र सेक्सको समिश्रणमा परेकी नयना पात्रको जीवनको उकाली ओराली छ र अन्य एउटा मिठो चिया जस्तो।

यी सम्पूर्ण कथाहरुलाई मुख्यत नारी पात्रले सजाएको छ। दुखको कारण पनि नारी, सुखको कारण पनि नारी, भोग्ने पनि नारी , भोगाउने पनि नारी। दोष पनि नारी निर्दोष पनि नारी। नारी नै सर्बोपरि छ कथामा ।निकै लामो समय पछि पढेका राम्रा कथाहरूको सङ्ग्रह हो “गन्तव्य गणबहाल” । गोविन्द गिरि प्रेरणाका यी कथाहरू बर्षौ सम्म जीवित रहने कथाहरू हुन्। यी पात्रहरु हाम्रो वरपर कालान्तर सम्म घुमी रहने छन् जब सम्म रक्सी, सेक्स र हामी भित्रका सेक्रेटहरु रही रहने छन्।

“गन्तव्य गणबहाल” साझा प्रकाशनले २०७२ मा प्रकाशित गरेको कृति हो। लेखक गोविन्द गिरी प्रेरणा भर्जिनियामा बस्छन र सन् २००७ देखि “विश्व परिक्रमा” नेपाली पाक्षिक पत्रिका सम्पादन र प्रकाशन गर्दै आएका छन्। उनको पहिलो कथा”किनारा” विक्रम सम्बत २०३४ सालमा प्रकाशित भएको थियो भने पहिलो कथा सङ्ग्रह “सुतेको समुन्द्र २०४० सालमा साझा प्रकाशनले नै प्रकाशित गरेको थियो।

Recent Reviews

केन्द्र र परिधि

केन्द्र र परिधि

योगमाया ः धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

योगमाया ः धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

Bhirmaha

Bhirmaha