Welcome to Pustak Samikshya

जुनेली

जुनेली

जुनेली

0 Readers reveiws

399

Writer : Brajesh

‘जुनेली’ उपन्यासमा चिराग भन्ने पात्रलाई लेखकका रुपमा देखाइएको छ । उसलाई उसको कमल भन्ने साथीले मानसिक उपचारका लागि डाक्टरकोमा पु¥à¤¯à¤¾à¤à¤•à¥‹ घटनाबाट कथावस्तुको उठान गरिएको छ । चिरागको उपचारका क्रममा डाक्टर सेपालिकाले ऊसँग मित्रवत् व्यवहार गर्छिन् । त्यस्तै, उसको अतीतका बारेमा विस्तारमा कमलसँग सोध्छिन् । कमलले चिरागले आफूसँग पढ्नेक्रममा विभिन्न घटनालाई कथा बनाएर सुनाउने गरेको कुरा बताउँछ । त्यस्तै, स्वयम् चिराग भने आफूलाई स्थापित लेखकका रुपमा प्रस्तुत गर्छ । यहाँसम्म कि ऊ आफूले मदन पुरस्कार अस्वीकार गरेको कुरासमेत बताउँछ । उपन्यासभित्र ऊ वास्तविकता र कल्पनाको दोसाँधमा बाँचेको देखा पर्छ । उपचारका क्रममा ऊ एकाएक बेपत्ता हुन्छ । बेपत्ता भएको केही समयपछि डाक्टरको इमेलमा दुईवटा म्यासेज पठाउँछ । पहिलोमा म्यासेजका साथमा उसले लेखेको जुनेली उपन्यासको पीडीएफ फाइल पनि राखिएको हुन्छ भने दोस्रोमा आफू जुनेलीको खोजीमा निस्किएको कुरा उल्लेख गरिएको छ । आफ्नो कुरा कसैले नपत्याएकाले उक्त कुरा प्रमाणित गर्नका लागि आफूले जुनेलीको खोजी गर्नु आवश्यक भएको कुरा भएको चिरागले उक्त म्यासेजमा उल्लेख गरेको हुन्छ ।
‘यायावर’ उपन्यासभित्र नायिकाका रुपमा चित्रित जुनेलीलाई प्रस्तुत ‘जुनेली’ उपन्यासमा पनि नायिकाकै रुपमा उभ्याइएको छ । उपन्यासभित्र जुनेलीले चिरागलाई पटकपटक फोन गरेर आफूलाई ‘यायावर’ उपन्यासमा पूरा चित्रित नगरिएकाले आफ्नो कथा पूरा गरिदिन आग्रह गर्छिन् । आग्रहमुताबिक जुनेली र चिरागको पशुपतिमा भेटघाट हुन्छ । भेटका क्रममा जुनेलीले आफ्ना सारा कथा चिरागलाई प्रत्यक्ष रुपमा बताएको कुरा उक्त इमेलमा लेखिएको हुन्छ । यसरी जुनेलीले बताएको बाल्यकाल, यौवनकाल, प्रेमप्रसङ्ग, विवाह, विवाहपछिका उतारचढाव, पतिसँग छुट्टिएर बस्नुपर्दाको पीडा, उनले पुनः पतिको साथ पाउनका लागि गरेका प्रयासहरु यस उपन्यासका मुख्य घटनाहरु बनेका छन् ।
प्रस्तुत ‘जुनेली’ उपन्यासमा उपन्यासकारले जुनेलीको कथा र चिरागको कथालाई सँगसँगै बढाएका छन् । डाक्टर सेपालिकाले चिरागलाई अध्ययन गर्नेक्रममा उसले पठाएको मेल पढ्ने, उनको आफ्नै जीवन बाँच्ने र उनको जीवनका अन्य कुरासमेत सँगै अगाडि बढेको छ । यसरी उपन्यासभित्र विभिन्न घटनाहरु एकैसाथ आएका छन् । यसरी उपन्यासभित्र केही खण्ड जुनेलीको कथा त्यसपछि अर्काे खण्ड चिरागको कथा गर्दै अगाडि बढेको छ । अन्त्यमा पुगेर ‘यायावर’ उपन्यासको एउटा पात्र जुनेलीले डाक्टर सेपालिकालाई पनि चिरागलाई जस्तै फोन गरेको देखाएर कथावस्तुको अन्त्य गरिएको छ ।
जम्मा ६८ खण्डमा संरचित प्रस्तुत ‘जुनेली’ उपन्यासमा कम्तीमा एक पृष्ठदेखि बढीमा चौध पृष्ठसम्मका खण्डहरु छन् । सबैभन्दा छोटो खण्ड ६७औँ खण्ड जम्मा पाँच पङ्क्तिको छ भने सबैभन्दा लामो खण्ड ९औँ खण्ड १४ पृष्ठको आयाममा फैलिएको छ । यसबाहेक १७औँ खण्ड पनि जम्मा एक पृष्ठको छ भने अन्य १२ वटा खण्डहरु दुई पृष्ठका छन् । बाँकी खण्डहरु ३ पृष्ठदेखि ८ पृष्ठसम्मका छन् । सिङ्गो उपन्यासलाई हेर्दा सरदर ४ पृष्ठको खण्ड संरचना देखिन्छ, जुन सन्तुलित खालको देखा पर्छ । यसको भाषा निकै सरल खालको छ भने जुनेलीले प्रयोग गर्ने भाषाचाहिँ ग्रामीण खालको छ । यस उपन्यासमा प्रयुक्त संवादहरु छोटा खालका छन् । सामन्यतः छोटा खालका वाक्यहरुले बनेको यो उपन्यास समग्रमा सरल छ ।

Category: उपन्यास

ISBN: 9789937895552

Edition: 1st

Publisher: Book Hill